विभिन्न अध्यायको देश !



एकादेशमा एउटा पेन्डुलम देश थियो |विभिन्न अध्यायको देश | त्यो देशको दरवार कैलाश पर्वतको फेदिमा अवस्थित थियो | त्यस दरवारको रक्षा गर्न थुप्रै तरवारहरू परिचालित थिए तर वरपर सिमानामा कुनै तारबार थिएन | दरवारका भित्ताहरु ईट्टाले नभई पैसाका बिट्टाहरुले ठडीएका थिए | छानो शिशाको अनि भर भिसाको थियो | देश हराभरा तर आदेश ज्यानमारा हुन्थ्यो | यस लोकमा शिक्षाको भिक्षा माग्नेलाई ज्ञानको अभिमान दिने चलन थियो |
दरवारको छेउमै एउटा अजंग्गको रुख थियो | त्यो रुखमा बैभव फल्ने गर्थ्यो | तर शिशिर ऋतुमा भने त्यस रुखको छायाले दरवारमा कहिलै सुर्यको किरण पर्न दिएन | अनि बसन्त ऋतुको हावाहुरीमा हाँगाले दरवारको छाना चर्कौला भन्ने डर हुन्थ्यो|  ग्रिष्म ऋतुमा भने त्यहि रुखको भर हुन्थ्यो |रुख काट्ने हिम्मत कसैको भएन किनकि फल त् त्यसैमा लाग्थ्यो | दरवार अन्त बनाउने ल्याकत त् के सार्ने तागत पनि थिएन |
दरवार भित्र शासन, बाहिर भासण थियो | दरवार भित्र बस्ने मख्ख, बाहिर बस्ने छक्क पर्थे | जनता स्वाभिमानी , नाइके बेइमानि गर्थे |भित्रकाले कर्म गर्दा बाहिरकालाई शर्म हुन्थ्यो | भित्र पासाको बाढी चल्थ्यो , बाहिर आशाको गाडि रोकिन्थ्यो | बाकि सब फस्ट क्लास थियो |
त्यस लोकमा सबैको खानपिन ठीक्क हुन्थ्यो |छाक टार्न समस्या थिएन | अचानक शत्रु शताप्दीमा बुफे चलनको सुरुवात भयो | जनता थालमा भन्दा भाडोमा ज्यादा हेर्ने भए , खानेकुराको परिमाणमा भन्दा पारिकारमा केन्द्रीत भए | दाल भात तरकारी खाने संकल्प गरेका ती सन्तोषी मनुवा अब त् परिकारै परिकारको विकल्पले अम्मली हुनथाले | अब  त् तास खान पनि खेल्न पनि प्रयोग हुन थाल्यो | सिकुवाको सेलरोटीले नभएर अगेनाले सेकुवाको रस सेक्न थाल्यो | रितीको फालनी हुदै गर्दा परनितीको थालनी भयो |
त्यस पश्चात त् राजारामले हराम , रिताले रमिता , मनोहरिले मनपरी अनि रेखाले अनदेखा गर्न सुरु भयो | राज्यलाई भलो हुदा ठुलालाई के गरु के गरु हुन  थाल्यो | सानालाई बाचौं कि मरौँ हुन थाल्यो | खोरिया जाने मन हुदाहुदै कोरिया जानु पर्ने बाध्यता भयो | दुहबी हिडेँका बटुवालाई चालकले दुबही पुर्याउन थाल्यो | तरपनि जन जनको मनले भन्थ्यो, के भयो त् ? आतँ गलेकै जिन्दगी चलेकै |
एकरातको कुरा हो , खादाखादै जनता जनार्दन प्यासीलाई प्यास लाग्यो | पानीको खोजीमा भौतारिदै परभुमीको मरभुमीमा पुग्यो | उसले त्यहाँको सरदारलाई प्यास मेटाईदिन सादर अनुरोध गर्यो | सरदारले आफ्ना भारदारलाई नजिकैको ईनारको किनारमा लग्न पानीको खानी देखाउन भन्यो | प्यासीलाई ईनार देखाएर उनीहरु फर्किए | एक निमेस पनि नसोची प्यासीले ईनारमा फाल हाल्यो | उसलाई लागेको प्यास त् मेट्यो परन्तु जिन्दगी बिताउन उसले त्यहिँ ईनारको ब्यास मात्र भेट्यो |
अन्त्यमा प्यासी लेख्छ ,
कलर फुल हुने झोकमा
ब्ल्याक एण्ड ह्वाईट रोजिएछ,
फलांस खेल्ने होडमा
तासको जोकर पो भईएछ !
-अनिस आचार्य


Comments

Post a Comment

Popular posts from this blog

मस्तीमा- पुरका धुर्तराष्ट्रहरु !!

हामी विकृत हुने कि विकसित हुने?

म आलु विपक्षी