आहा ! कस्तो मिठो सपना


एकाबिहानै भाले बास्यो, म निन्द्राबाट बिउँझिएर आफ्नो नित्यकर्म सक्नतिर लागेँ, चिया पिउँदै आजको सामग्रीको दर खाद्य बैंकको वेबसाइटमा हेरेँ, मकैको दर बढेको रैछ, हामीलाई ज्यादा हुने मकै आमालाई पोको पार्न लगाएर गएँ खाद्य बैंकमा जम्मा गर्न। हाम्रो स्थानीय निकायमा खाद्य बैंक खुलेको बल्ल एक महिना भयो, म यस बैंकमा खाद्य बचत खाता खोल्ने ६३ औँ नम्बरमा पर्छु।
चल्ती खाद्य र मुद्दती खाद्य खाता पनि हुन्छ, चाँडै बिग्रिने खाद्य सामग्री जस्तै साग, तरकारी, फलफूल, दूध, अन्डा आदि चल्ती खाद्य खातामा जम्मा गर्नुपर्छ र यस्ता चिजको बचत म्याद खाद्यको आयु अनुसार केही दिन वा हप्ता मात्र हुन्छ। जस्तो यदि आज दूध जम्मा गरेको छ भने एक हप्तापछि कुरौनी, पेँडा, पनिर वा दहीमा मात्र झिक्न मिल्छ।
जाँदाजाँदै बाटोमा हरि काका भेट भयो। काका पनि खाद्य बैंक नै हिँड्नु भएको रैछ।
काका कति कामले जान लाग्नु भएको?
काकाले भन्नु भयो– यो बढी भएको दुध जम्मा गर्छु अनि खाद्य बैंकको एटीएम बाट अलिअति गुन्द्रुक निकाल्छु।
काकाले थप्नु भयो- पहिला पहिला पो दुध बेच्न नसक्दा सडकमा पोख्नु पर्थ्यो , बन्दा खेतमै जोत्नु पर्थ्यो, अहिले त खाद्य बैंकमा जम्मा गर्छु। बैंकबाट अरुले निकाले भने निकाले नत्र बैंकले सागपातको गुन्द्रुक, अरु तरकारीको अचार , किम्ची, सिन्की यस्तैको घरेलु ब्रान्ड बनाएर फेरि उपभोक्तालाई बिक्री गर्छन्। आफ्नै गाउँमा युवा र गृहिणीहरुले रोजगारी पनि पाएका छन्।
मैले पनि काकाको कुरामा हँ मा हँ मिलाउँदै भनेँ– अँ यो सरकारले चाहिँ गज्जब गर्यो। अहिलेसम्म ५०० वटा जति खाद्य बैंक स्थापना भइसक्यो रे, मैले अघि पत्रिकामा पढेको थिएँ। यो पहिलो चरणमा सबै स्थानीय निकायमा कम्तिमा एउटा (७५३ वटा) स्थापना गर्ने लक्ष्य छ।
मैले पनि छुट्टिने बेला काकालाई ढाढस दिदै भने – अब चाहीँ नेपाल कृषि प्रधान देश हो भन्न दुख लाग्दैन।
घर फर्किदा १० बजिसकेको थियो। आमाले खान खान बोलाउनु भयो । आज खानामा आफ्नै घरमा पालेको लोकल कुखुरा (अघि बिहान मलाई उठाउने ) को झोल, गत हप्ता खाद्य बैंकबाट साटेर ल्याएको अकबरेको अचार, चिसो महि तयार पारिएको रहेछ। घरमा कुखुरा, गाई अनि पोखरीमा माछा पालेको छ । खेतमा मौसम अनुसारको तरकारी अनि लटरम्मै आप छन् ।
पशुपति शर्माको ‘मलाई अमेरिका यही, मलाई बेलायत नि यही अनि मलाई कतार पनि यही’ भन्ने गीतको सम्झनामा टोलाउँदै थिए, अचानक माईली फुपू हस्याङ्फ़स्याङ् गर्दै छोरि ज्वोरो आएर लडेकी छे भन्दै आउनु भयो । मैले सम्झाउँदै भने ‘पिर मान्नु पर्दैन, अहिले त गाउँ गाउँमा डाक्टर र ल्याब अनि आईसीयु सहितको अस्पताल छ। बहिनीलाई अहिले जँचाएर ल्याउँछु’ भन्दै अनलाइन टोकन लिएँ। मेरो पालो १५ नम्बरमा पर्‍यो। यो सुविधाले सजिलो पनि हुने अनि समयको बचत पनि हुने।
त्यहिँ मौका छोप्दै माछालाई चारो हाले अनि पालो आउने बेला बहिनीलाई लिएर गाउँको अस्पताल गएँ। रगत जाँच गरेको टाइफाइड भएको रहेछ, डाक्टर साहबले औषधि नियमित खानु निको हुन्छ भन्नु भयो।
दिउँसोको ३ बजिसकेको रहेछ। एकछिन गाउँ डुल्न निस्किनु पर्‍यो भनेर मेरो साथी राम विलासको रिसोर्टमा गएको, ऊ त पाहुनालाई स्वागत गर्नमा व्यस्त रहेछ। सरकारले ‘नेपाल ग्रामीण भ्रमण कार्यक्रम’ ल्याएदेखि हरेक गाउँमा साना तथा मझौला होटल , रिसोर्टहरु खुलेका छन् । सरकारको नीति नै एक स्थानीय तह एक आगन्तुक केन्द्र हो । जहाँ त्यस ठाउँको कला, संस्कृति, जात, भाषा आदिको प्रदर्शनी गरिन्छ । यस केन्द्रबाट क्षत्रिय र राष्ट्रिय दुवैको सूचना लिन सकिन्छ। गाउँका होटेलहरुले आफ्नो स्थानीय परिकार अनि स्वादको बढोत्तरी गर्ने मौका पाएका छन् ।
नेपालीहरु विदेश भ्रमण छोडेर आफ्नै देशको भ्रमण तथा अवलोकनमा व्यस्त छन्। अहिले देशभरी दर्जनौ ग्रामिण भ्रमण कार्यक्रम सञ्चालनमा छन् । जस्तै ‘घुमौ रारा, ईलामको चिया इलम, कोशी टप्पु यात्रा ,सौराहाको सयर, घान्द्रुकको गुन्द्रुक, तालि तालि कर्णाली, लुम्बिनीमा ध्यान’ आदि । नेपाल सरकारले ग्रामीण उद्यम गर्न चाहेनेलाई बिना व्याजी ऋण उपलब्ध गराउँछ , अनि को जान्छ भारत वा खाडी ?
पाहुनालाई होटलको कोठा पुर्याएर फर्किदै गर्दा रामविलासले खुशी हुँदै भन्यो – अहिले विदेशी पर्यटक नआउदा त यस्तो भ्याईनभ्याई छ । हाम्रो गाउँ ठाउँको यस्तो चर्चा छ । पछि महाब्यधिबाट तग्रिदै गरेको विश्वमा फेरि पहिला जस्तै विदेशी पर्यटकको आगमन हुन थाल्यो र अझ नेपाल भ्रमण वर्ष घोषणा भयो भने त कहाँ राख्नु तेत्रो पाहुना?’
गफ गर्दा गर्दै साँझको ५ बजेको पत्तै भएन । त्यहाँ बाट म विदा भएर घर तिर लागे। घरमा त जमघट छ। ए ! दिदीभिनाजु सधैँको लागि अमेरिकाबाट नेपाल फर्किनु भएछ।
भिनाजु भन्दै हुनुहुन्थ्यो – विदेशमा त महाब्यधि पछि बेरोजगारी बढेर हैरान छ । तेलको मुल्य पनि निरन्तर ओरालो लागिरहेको छ। ठुला राष्टहरु पनि मिसाएल बनाउन बन्द गरेर अस्पताल निर्माण अनि औषधि अनुसन्धानमा तल्लिन छन् ।
बालाई पनि खुब रिस उठेको रहेछ भनिहाल्नु भयो – हतियार, गोलाबारुदको व्यपारमा मन्दी भएपछि बेरोजगारि त बढ्ने भइहाल्यो नि ।
म गर्व गर्छु मेरो देशप्रति जसले कुनैपनि राष्टको लागि हतियारको मतियार हुने काम गरेन । महाब्याधि पछि विश्व आर्थिक संकटबाट गुज्रिरहेको बेला नेपालले भने अन्तरिक श्रोत, साधन , जनशक्तिको सर्वोत्तम उपयोग तथा परिचालन गरेको छ । स्वदेशी उत्पादन र उत्पादकत्व बढाउदै लागेको छ । सेवा क्षेत्र पनि छरितो छ। पर्यटन ग्रामीण केन्द्रित छ । कृषि कर्म गर्नलाई युवाको तछाड मछाड छ । किन नहुनु ? युवाहरुको नविनतम सोच तथा सरकारको कृषि बजारीकरण साचैं उत्कृष्ट छ ।
आमाले खान खान बोलाउनु भयो । खाना खायौँ । सुत्न आ – आफ्नो कोठातिर लाग्यौँ ।
आँखा मात्र लागेको थ्यो भाले बासेको सुनेर बिउझिएं। बिहानको ६ बजिसके छ ।
आहा ! कस्तो मिठो सपना ।
मनमा लाग्यो, ‘उठेर के गर्नु छ र बरु सुतेर देखेको सपना रमाइलो।’
-अनिश आचार्य 

Comments

Popular posts from this blog

मस्तीमा- पुरका धुर्तराष्ट्रहरु !!

हामी विकृत हुने कि विकसित हुने?

म आलु विपक्षी