प्रत्येक विरोधमा एउटा सुकर्म खोज्ने कि!


 

विरोध वा प्रदर्शन, एक विचार वा कार्यप्रति आपत्ति, अस्वीकृति वा असहमतिको सार्वजनिक अभिव्यक्ति हो। यो सामान्यतया राजनीतिक हुन्छ। आन्दोलनले अनेक प्रकारका स्वरुप  लिन सक्दछ। यसको रुप व्यक्तिगत बयानदेखि जन प्रदर्शनसम्मको हुन्छ । आन्दोलनकारीहरूले आफ्नो  जनमत प्रदर्शन गर्दै , सरकारी नीति प्रभावकारी हुनु पर्ने वकालत गर्छन। उनीहरुले सार्वजनिक रूपमा आफ्नो राय सुनाउने  माध्यमको  रूपमा विरोध प्रदर्शन गर्न सक्दछन। अर्थात , उनीहरूले चाहेको परिवर्तन  लागू गर्नका लागि प्रत्यक्ष कार्य गर्न सक्छन्।

अहिले बिद्यमान बिरोधका स्वरुपहरु यस प्रकारका छन् :

– र्‍याली वा प्रदर्शन

– परेड ( मार्च पास )

– जागरण

– रोक टोली

– नागरिक अवज्ञा

– भेला वा समारोह

– याचिका

– सांकेतिक प्रदर्शन

– पत्रकार सम्मेलन

– मुद्दा

– आक्रमण वा दंगा

– हडताल

– मानब बिहीन बिरोध  ( जस्तै सामाजिक संजाल भेला, समूह) आदि।

यी माथिका सबै बिरोध सरकार वा सरकारका अवयव बिरुद्ध लक्षित हुन्छन्। यी बिरोधहरु विनासकारी वा (अ) विनासकारी हुन्छन्।

माथिका सबै बिरोधका रुपहरु अहिले राष्ट्रिय वा अन्तर्राष्ट्रिय सन्दर्भमा प्रचलित र अनुगामित छन्। परिणाम राम्रै आए पनि, यी सबै नकारात्मक क्रिया र तरङ्ग मार्फत प्राप्त हुन्छन्।

कसैले भन्नु होला, बिरोधको स्वरुप अहिंसात्मक पनि त हुन्छन नि। हो, हुन्छन् तर एकैसाथ बिरोध र उन्नति हुनुपर्छ भन्ने उदेश्य हो। यस मामिलामा चलनचल्तीका सबै बिरोधका शैली राज्यको लागि निष्क्रिय साबित भए , सक्रिय चरित्रका हुन सकेनन्।

मेरो भन्नु यति मात्र हो कि, विरोध पनि सकारात्मक, फलोत्पादक अझ भन्दा अनुकरणीय होस्। अर्थात्: नकारात्मक कदमहरु क्रमश: सकारात्मक  कार्यको पहलकदमीले बिस्थापित गर्दै जानुपर्छ।

हाम्रो पुस्ताले निर्माणात्मक बिरोधको शैली अपनाउने कि ? अब उप्रान्त बिरोधका स्वरुपमा आमुल परिवर्तन ल्याउने कि ?

यो कार्यको थालनी नेपालमा भइसकेका छन्।  केही नजिरहरु राख्दै थप प्रष्ट पार्ने आयास गर्दछु।

सरकारले दूरदराज, बिपन्न, असहायहरुको आवाज सुनेन भन्दै विभिन्न सञ्चार मध्यमले जनतासँग सिधा संवाद गर्दै उनीहरुको गुनासो सुन्ने गरेका छन्। यो सरकार प्रतिको नागरिक बिरोधका रुपमा बुझिन्छ । जनता सरकार वा सरकारका आधिकारिक निकायसँग गुनासो नगरी, यस्ता  कार्यक्रम मार्फत आफ्ना पिर,मर्का सुनाउँदै छन्। के यो सञ्चार माध्यम सहित जनताहरुको सरकारप्रति को बिरोध हैन र?

महावीर पुन  “रोमन म्यागासेसे पुरस्कार” विजेताको नेपालमै आविष्कार केन्द्र निर्माण गरेर, युवाहरुलाई नवीनतम खोज, अनुसन्धान र प्रवर्द्धनमा लगाउने योजना छ। तर, उनको योजनालाई सरकारले पूर्ण साथ नदिएपछि, व्यक्तिगत तवरमा साथ सहयोग जुटाउँदै, उनले  त्यस आयोजनाको आरम्भ गरे। समयसँगै उनी लगायतको टोलीले विभिन्न आविष्कारको परिणाम प्रस्तुत गरिरहेका छन्। के यसलाई  उनको सांकेतिक प्रदर्शन भन्न मिल्दैन र ?

हास्य कलाकार दम्पतिले ” धुर्मुस सुन्तली फाउन्डेसन” मार्फत एकीकृत पहरी नमुना बस्ती निर्माणबाट आफ्नो यात्राको सुरुवात गरेका थिए। आजका मिति सम्म ५ वटा आयोजना सम्पन्न गरेर गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सम्पन्न गर्न तल्लीन छन्। जनताको अभूतपुर्व साथ र सहयोग रहेको छ। यस फाउन्डेसनको आगामी महत्वकांक्षी परिकल्पना ” नमूना नेपाल ” हो। अहिलेको परिवेशमा सरकारले  निश्चित समयमा पूर्वाधार निर्माण तथा समापन गर्न असक्षम छ। सरकारी काममा हुने ढिलासुस्ती र प्रभावकारी व्यवस्थापनको बिरुद्ध, यो जागरण हैन ?

केपी खनालले काठमाडौँको थुप्रै सार्वजनिक स्थलमा सफाई अभियान चलाए। त्यस अभियानमा थुप्रै युवाहरु पनि जोडिँदै छन्, र यसले गति लिरहेको छ। यो सरकारले आफ्नो दायित्व पुरा गरेन भन्दै सरकार बिरुद्धको प्रदर्शन हैन ?

सरकारले दुर्गमका जनतालाई आधारभूत स्वास्थ्य सेवा समेत प्रबाह गर्न नसकेको वा नचाहेको अवस्था छ। दुर्गममा गतिलो अस्पताल छैन। स्वास्थ क्षेत्रमा ब्यापक विसंगति बिधमान छ। सत्याग्रहबाट पनि उनको पुकार नसुन्दा, गोबिन्द के. सी. देशाटन गर्दै आफ्नो काल कटाउँदै छन्। आफ्नो सामर्थ्यले सकेको उपचार सेवा दिन-दुखीलाई दिन्छन्। के यो उनको सरकारलाई याचिका हैन र ?

भर्खरै मुलुकभित्र र बाहिर रहेका नेपालीले चन्दा संकलन गरेर डडेल्धुरा अस्पतालमा पिसिआर मेसिन जडान गरिदिएछन्। यसलाई जनताको सरकारप्रतिको सामाजिक आलोचना मान्ने कि नमान्ने?

अनिषाले ‘डोपर च्यालेन्ज’ मा जितेको २ लाख पुरस्कारले १० घरलाई पुग्ने इनार बनाइछिन्। यो उनको भोक- हड्ताल हैन र ?

यिनीहरु त् प्रतिनिधि पात्र र कर्म मात्र हुन्। अरुपनि थुप्रै व्यक्ति र तिनका कार्यहरु ओझेलमा छन् , खोतल्नु पर्दछ। यिनीहरु परिवर्तन र सुसंस्कारका असली सम्बाहक हुन। वर्षाको भ्यागुता जस्तो ट्वार ट्वारको कोलाहल भन्दा विजन नै ठिक छ।

कतिपयले ढाडस दिएको सुनिन्छ, “हेर्नुहोस त् अहिलेको आन्दोलनमा युवा हरुले एउटा पनि टायर नबाली, रेलिङ्ग नभाँची शान्तिपूर्वक प्रदर्शन गरे। यो गर्व गर्ने कुरा हो।” यो शैलीमा चित्त बुझाउन सकिन्छ, गर्व चाही गर्न सकिदैँन है।

अब निस्क्रिय, आक्रामक वा विनासकारी प्रदर्शन भन्दा पनि सक्रिय, रचनात्मक अनि निर्माणात्मक बिरोधी संस्कार विकास, विस्तार गर्दै लाने कि ?

यहाँ प्रश्न उठ्न सक्छ नागरिकले गर्ने भए सरकारको के काम ? हामीले कर किन तिर्ने ?

कसैलाई लुगा  लगाउन नआएर नांगै हिँड्दैछ भने आफू पनि आङ देखाएर  लोली मिलाउने कि लुगा लगाएर उसलाई पनि लगाउन हत्ते हाल्ने?

हो, नीतिगत, कानुनी, आर्थिक ब्यभिचारका मुद्दाहरुमा सतर्क हुदै प्रतिविचार राख्नु पर्दछ। यो जनताको अधिकार पनि हो। यद्यपि बाँकी अवस्थामा चाहिं यो बिरोध मात्र गर्ने शैली फेरिनु पर्दछ।

जस्तै, अहिले सरकारले क्वारेन्टिन गुणस्तर र पर्याप्त बनाउन सकेन भन्ने आवाज चर्को छ। हालसालै ‘इनफ इज इनफ’ अभियानले ५-६ दिनमा लाखौँ युवालाई फेसबुकबाट संगठित गरेर सरकार विरुद्ध प्रदर्शनमा उतारे भन्ने सुनियो। त्यो प्रदर्शन काठमाडौँलगायत देशमा विभिन्न प्रमुख शहरहरुमा देखिएको थियो।

ठिक छ , सरकारले ढिलो गर्‍यो, गर्न सकेन वा गरेन। तर माइतीघरमा हुल निस्किनुको सट्टा यदि त्यस आन्दोलन र त्यस आन्दोलनलाइ समर्थन गर्ने जमातले देशका प्रमुख शहरहरुमा नमुना क्वारेन्टिन (अन्तरार्ष्ट्रिय स्तरका ) जति शैय्याका सकिन्छ १०, २०, ३०, ४०, १००, ५०० बनाएर बिरोध गरेको भए ? सरकारलाई टक्कर दिएको भए?

सरकारले विदेशबाट आउनेहरुको सही तथ्यांक राख्न सकेन, सही ट्रेसिङ्ग भएन, भन्ने छ। नवीन सोच, ज्ञान, सीप अनि पद्धतिका धनी, युवाहरु सीमामा वा सम्बन्धित ठाउमा स्वयम् सेवक भइदिए  ? वा कुनै प्रणालीको सफल प्रयोग गरेर, सरकारलाई यसरि  गर्नु पर्छ है भन्ने नमुना प्रस्तुत गरेर बिरोध गरेको भए ?

जथाभावी सडक निर्माण, चुरे दोहन, वनविनासले निम्त्याउने प्राकृतिक बिपत्ति, सरकारको कमजोर निगरानी, तस्कर पक्षीय नीति, कमिसनखोर प्रवृतिकै उपज हो। अहिले सरकारी उद्दारमा प्रस्न उठिरहेका छन्, उठिराख्थे। आगामी दिनमा फेरी सडकमा नारा लाग्लान्, “वन विनास बन्द गर “भन्दै। चर्का घाममा सडकमा नारा लगाउनु  भन्दा डाँडामा बिरुवा लगाउँदै नारा लाउन सकिन्छ कि ? त्यो काम बरु पार्टीको झन्डा हल्लाउँदै गरे हुन्छ नि।

काठमाडौँ धुलोमाडौँमा परिणत भएको सबैलाई जानकारी छँदै छ।  सबैले आफ्नो- आफ्नो घरको अगाडि एउटा ठूलो गमलामा रुख रोपेर बिरोध गर्दा कस्तो होला ? एउटा गमलामा ६-१० फिट वा अझै ठुलो रुख हुर्काउन सकिन्छ।

फुटपाथ छेउको रेलिङ्गको विकल्पमा, रेलिङ्ग नभएको ठाउमा बिरुवाको रेलिङ्ग बनाएर सरकारलाई सिकाउँदा कसो होला? हामीले गाउँ – घरतिर बार, टाटीको साटो बिरुवाको टाटी लगाएका हुन्छौँ नि, हो त्यसरी नै बाटोको रेलिङ्गको साटो यही बिरुवाको टाटी लाउदा सास र सौन्दर्य दुवै हुन्छ।

खोज्दै जाँदा अरु उदाहरण पनि थुप्रै आउँछन्। त्यो अनुसरण गरौ, लागू गरौँ। बिरोधको नयाँ अवधारणा हाम्रै देशबाट विश्वलाइ दिन सकिन्छ। सम्पूर्ण क्रिया बिकसित भनाउँदाले दिएको नै ठिक वा अनुशरण गर्नु पर्ने बाध्यता नराखौं। नेपालको माटो सुहाउँदो, बाटो देखाउदो अनि फाटो हटाउँदो किसिम नै उपयुक्त हुन्छ।

सरकारलाई पनि यस कामको टड्कारो होस् न। यो पनि एउटा बिरोधको स्वरुप हुन सक्दैन र ? यो रुपले ” सर्प पनि मर्ने लाठी पनि नभाँच्चिने” हुन्छ। बिरोध पनि हुन्छ, राज्यलाई लाभ अनि सरकारलाई द्रुत र कुशल हुन खवरदारी समेत हुन्छ।

अब प्रत्येक बिरोधका अवस्थामा एउटा सुकर्म खोज्ने कि?

-अनिश आचार्य 

Comments

Popular posts from this blog

मस्तीमा- पुरका धुर्तराष्ट्रहरु !!

हामी विकृत हुने कि विकसित हुने?

म आलु विपक्षी