गमलाका नेता !




 राजनीतिमा नैतिकता महत्वपुर्ण  विषय मात्र होइन , यो जनअपेक्षा र सरकारको औचित्य संग जोडिएको हुन्छ।  अझ यो लोकतन्त्रको भविष्यको लागि अनिवार्य हुन्छ। असल राजनीतिक व्यवहारको सार्थक आधारका लागि पनि नैतिकतालाइ बिशेष जोड दिनुपर्छ। इतिहास देखि नै आचारसंहिता र निर्देशिकाहरु बिकसित अनि अनुसरण गरिएको प्रमाणहरु छन्। मुख्यत: यी संहिताहरु राजनीति अनि सार्वजनिक संरचनाहरुको नियन्त्रण गर्न , साथसाथै उनीहरुलाई आफ्नो कार्यप्रति उत्तरदायी बनाउदै समाजमा स्थिरता बहाली गरि राजनीतिक औचित्य कायम राख्न भएका छन् र हुनु पर्दछ। 

राजनीति र  नैतिकताको आवश्यकता :

व्यवहार संचालन गर्ने आचरणको सिद्धान्त, संहिता हो भने सम्भावित कार्यहरू बीच ठीकसँग कार्य गर्न र सहि छनौट गर्न मार्गदर्शन गर्ने सिद्धान्त, नैतिकता हो।  मानव इतिहासमा, संहिता र नैतिकता व्यवहारको मार्गदर्शनमा निर्भर रहदै , सहिष्णु समाज निर्माण गर्दै अनुशासन कायम राख्दै यहाँ सम्म आइपुगेको हो। 

उपयोगितावादले पनि जुन व्यवहार कायम रहदा समाजलाई सुखभोग दिलाउन सकिन्छ , त्यहि नै उत्तम अस्तित्वको गुण हुने अनि यहि व्यवहारलाइ आचार मानिने विचार ब्यक्त भएको देखिन्छ। तसर्थ , आचार- नैतिकतालाइ कार्यात्मक बनाउन, समाजका हरेक सदस्यले यसलाई अनुरक्षित गर्नु अपरिहार्य हुन्छ। समाजका हरेक सदस्य भन्नाले- नागरिक अगुवा देखि बाटो हगुवा सम्म , नेता देखि अभिनेता सम्म , पक्ष देखि प्रतिपक्ष सम्म , बैध देखि झाक्री सम्म , डाक्टर देखि ह्याक-टर सम्म , डिग्री देखि बिग्री सम्म , रिपोर्टर देखि टीपोर्टर सम्म , जनता देखि पन्थ सम्म र बिज्ञ देखि अबिज्ञ सम्म - सबै सबैले अनुरक्षित गर्नु पर्छ। 

सही व्यवहारको मापन व्यक्तिको आफ्नो रुचि पुरा हुदा हैन, परन्तु समुदायको हितहरू कुन प्रकारले पूरा भए वा भएनन् भन्नेमा आधारित हुन्छ। लोकतान्त्रिक समाजमा जनप्रतिनिधि वा सार्वजनिक अधिकारीहरु संबिधान - कानुन को आवश्यकता परिपूर्ति गर्न, शक्ति निहित सरकारमा चुनिएका हुन्छन।  जनप्रतिनिधिको उपस्थितिका हिसाबले, त्यो सरकारलाई बृहत समाजको अणु पनि मान्न सकिन्छ। 

त्यसैले, राजनीतिको सम्बन्धमा आचार- नैतिकता उनीहरुको प्रत्यक क्रिया र त्यस  क्रियाले आम मानिसलाई पार्ने प्रभाव वा हस्तक्षेप संग सम्बन्धित हुन्छ। आचार- नैतिकता राजनीतिको अभिन्न रुप हो , जसको असर कयौ मानिसहरुले पार्ने असर भन्दा अधिक अनि व्यापक हुन्छ। त्यसकारण , राजनीति गर्छु भन्नेको व्यवहार- आचरण उच्च स्तरको हुनु वाञ्चनिय हुन्छ। 

कस्तो व्यक्ति नैतिक हुन्छ ?

कोहि पनि व्यक्तिले अरुलाई नैतिकताको प्रश्न राख्नु पहिले , यी केहि चारित्रिक विशेषता आफुमा भए-नभएको निर्क्यौल गर्नु जरुरी हुन्छ। 

१) के तपाईंको काम-कर्तव्य तपाईंको सोचाइ संग मेल खाएको छ ?

२) तपाईं वफादारलाई कसरी इनाम दिनुहुन्छ?

३) तपाईं आलोचकलाई कस्तो व्यवहार गर्नुहुन्छ ?

४) के तपाईं अधिक प्रतिज्ञा गर्नुहुन्छ?

५) तपाईंको विचारमा कति समर्थक पाउनुहुन्छ ?

६) तपाईं नकरात्मकता लाई कसरि परिभाषित गर्नुहुन्छ ?

७) तपाईं विनम्र हुनुहुन्छ ?

८) के तपाईं निष्पक्ष हुनुहुन्छ ?

९) आफुले गरेका गल्तीहरूमा पछुतो मान्नुहुन्छ ?

१०) के तपाईं आफ्नो निर्णयको औचित्यपूर्ण र इमानदारीपूर्वक प्रतिवाद गर्न सक्नुहुन्छ?

११) के तपाईं प्रत्यक रात राम्ररी सुत्न सक्नुहुन्छ ?

त्यसकारण, गुटमा बुट बजारेर नैतिकताको पाठ नसिकाइयोस श्रीमान। भेलाको मेलामा नैतिकताको तमासा नदेखाइयोस कामरेड। कनिष्ठको समुहमा बसेर नैतिकताको मोह प्रस्तुत नगरियोस दाईहरु। हुलमा भुल गर्दै नैतिकताको नारा नलगाइयोस भाईहरु।

गमलाका नेता !

नैतिकता नेतृत्वको केन्द्र हो। नेताहरूले संगठनात्मक मूल्य-मान्यताहरु  स्थापना गर्न र सुदृढ पार्न मद्दत गर्छन्।  नैतिक तथा जिम्मेवार नेताले अरुलाई सम्मान गर्छ , जनताको सेवा गर्छ , सबैलाई न्याय गर्छ , सबैप्रति इमान्दार हुन्छ र उसले सम्मुनत समाज निर्माण गर्छ। आजका सबै  राजनीतिक नेताहरूले यी सबै सिद्धान्तहरू नभए पनि केही लाई तोडी सके र आफ्नो पद र स्वार्थको अभिष्ट पूर्ति गर्न अपभ्रष्ट भइसके - सबै ,सबै र सबै । 

कोहि उखान , कोहि बखान गर्दै छन्। कतै कविता , कतै ताकिता हुदैछ। कसैको शायरि, कसैको सवारी लगातार भइरहेको छ।  कोहि कुर्लिदै छन् , कसैलाई उर्लाइदै छ। एकथरि गनगन , अर्काथरी भनाभन गर्दै छन्। यिनका खुट्टी नि देखियो , जुट्टी नि देखियो। बेला-बेला कामरेडहरुको अभिवादन गर्न कस्ने मुट्ठी नि देखियो। दाईहरुको जय नेपाल गर्ने हुती नि देखियो। मनको , न काला न सेता , न उता न यता , यी सब गमलाका नेता। 

पारिलो घाम लाग्ने , उब्जनी खेत-बारीको प्रांगारिक मलमा हुर्केको नेता भए पो  फल अनि शितल दिन्थे। जरा फिजारेर , हाँगा सुदृढ पार्दै , स्वतन्त्रताको हावामा आफ्ना हरिया कल्कलाउदो पात हल्लाउथे।  गमलामा कलमी गरेका नेताहरु , मालीको क्रियानुसार प्रक्रिया सुरु गर्छन। यिनका आविष्कार , नवाचार र नैतिकता , उनै मालीको समय , इच्छा र गोडमेलमा निहित छ। अनि यिनले नैतिकताको कुरा गर्दा मलाई फगत  यिनको वैतनिकताको गन्ध आउछ। 

यी दुइदिनको घामले ओइलाउने , झरीले गल्ने अनि शर्दिले सड्ने गमलाका नेता। यिनका हुर्काइ नियन्त्रित छ , पुष्पन सिमित छ , विस्तार पराधिन छ। यिनका बनोट गमलाको आकार अनुसार , अनि प्रतिकृति त्यसमा प्रयोग भएका सामग्रीको प्रकार अनुसार भएको छ। यिनका मालीले काम , क्रोध , लोभ , मोह , मद् र मत्सर्यको मल जरामै जडित गरेको छ। अनि यस्ता रुखको के तुक छ र ? 

मलाई त् यी गमलेको चिन्ता हैन, बरु  ती तमाम बन्जर पारिएको खेत-बारीमा फल्न र फुल्न नसकेका लोपुन्मुख बोट-बिरुवा र तिनका प्रजातिको उद्भावको हो। अब मल पनि उतै हाल्छु , फल पनि उतै खोज्छु। गमलाका नेताहरुबाट उत्पादित गण्डमाला निर्मुल अत्यावश्यक छ। 

अत: बन्द गर नैतिकताको रटान , मलाई सहानुभूतिको तालि पाउने कुटिल उपाए जस्तो लाग्छ। नभन 'जनताका लागि' यो हामीलाई गालि जस्तो लाग्छ। 'राष्ट्रको हित' भन्नु त् केवल ठगि खाने भाँडो भयो। हामी अभागी नेपालीलाई नेता मात्र हैन , यिनीहरुको छाया पनि घाँडो भयो।   

-अनिश आचार्य 



Comments

Popular posts from this blog

मस्तीमा- पुरका धुर्तराष्ट्रहरु !!

हामी विकृत हुने कि विकसित हुने?

म आलु विपक्षी