म खोपको परेवा

 



आजकालको समय खासै निको छैन। सधैजसो आकाशमा कालो बादल मडारिएको हुन्छ। बादल हटे चर्को घामले डढेलो लाग्ने पिर , नहटे पानिले भेल उर्लने डर - घरमा पनि मनमा पनि। आकाशको बादल देखिन्छ , आखाँमा लागेको बादलको  कसलाई मतलब ?  ज्या, उड्न पनि सक्दिन क्षितिजमा कपटको जाल फिजारिएको छ। हौसलाको उडान भर्न चाहने सबैका उत्कट अभिलाषा द्वेषीको अँगालोमा बाधिएको छ। आफ्नै स्वर कर्कश लाग्ने व्यथाको ओखति के होला ?

यो व्यथा आजभन्दा करिब करिब २० बर्ष अगाडिको हो। यो दौडको युग। सबै दौडमा थिए - कोहि पाउने , त् कोहि गुमाउने।

आज मेरो पालो थियो। वारिबाट दौडिएर पारि पुग्ने। सिमा भित्र सुरु गरेर , सिमा बाहिर रोकिने। स्वभुमीबाट उडेर दसगजामा हराउने।

आज मेरो खोप मात्र हैन दिन पनि अध्यारो छ। सायद मेरो बिदाईको साक्षी कसैलाई हुन छैन होला। आँगन भरि ख्वामितले छरीदिएको अन्न , गएर टिप्ने भोक छैन , खालि झोला भर्ने लालसा छैन। भनिन्छ स्वतन्त्रता परम हुन्छ, तर आज मेरो स्वतन्त्रता किन मलाई आनन्दमय छैन ? ख्वामितले खोपको ढोका खोलिदिदा पनि किन मलाई अन्धकारको अधीनता प्यारो ? के स्वतन्त्रता परिस्थितिगत हुन्छ ? यो सारा उथल -पुथल यसैका निम्ति भएका हैनन् ?

यो आँशु बेचेर हाँसो किन्ने जमाना हो। जमानाको जिम्मा वहन गर्न फिजारीएका पखेटा यथार्थको बेगले लागेर भुइमा पछारिदा थाहा भयो - बाच्नु जिउनुको फरक। खैर, हिड्ने मान्छे लड्छ तर खस्यो भने नि ?  जे होस् पारिको भारि बोक्नुनै - कोहि समुन्द्र वारि बसेर , कोहि समुन्द्र पारि बसेर। उठेर धुलो टक- टक्याउदै पुन: उड्न खोज्दा पखेटा चलेन भने नि ? अनि त्यसै बखत भयङ्कर भेद खुल्यो भने नि ?

यो नाटक रहेछ, सबै आफ्नो चरित्र निभाउदै छन्। मेरो तुच्छ दुर्घटना हुदाकै बखत अर्को भयानक दुर्घटना लिपिबद्व हुदै रहेछ। डाक्टर , भट्टाचार्य हरुको साथमा पटकथाको संवाद तयार हुदै थियो।  दुइ प्रेमिल जोडीको बसाईमा प्रचण्ड पथको माधवी लता घिसरिन खोज्दै थियो। खड्गो उचित स्थानमा वा रहन्छ भन्ने भान नभएर हो ?

स्थान रोमाञ्चित थियो यद्दपि वातावरण धुम्म थियो, सायद जानकार भएर पनि खतिको ओखति नभएर हो कि।अचम्मको कुरा त् के भने उनीहरु निर्देशकको बुइ चढेका रहेछन तसर्थ खुट्टा भुइमा थिएन। पनि धर्ति छोडेको , उनीहरु पनि धर्ति छाडेका। एकै कर्मको परिणाम किन अनेक ? एकै कर्म गर्नेको उदेश्य किन अनेक ? यो सब गर्दागर्दी यहीं दिक्दार गद्दारिका लागि हो ?

निरस मेरा आखाँ यसै रसाएर आए। त्यो आसुको थोपाले पत्रको अक्षरलाइ छरपस्ट पारेर होला , उनीहरुले मेरो उपस्थितिको सुइँको पाए। त्रासको बिजारोपण रहस्य अप्रकट हेतु उनीहरुले हिंसाको सहारा लिए। गुलेलीको चोटले मेरो उडान भर्ने आकांक्षा भौतिक मानसिक दुवै तवरले विच्छिन्न भए। विचरा मेरा सहचरहरुको के भुल भयो ? आँशु बेच्दै गरेका निमुखालाई एक-आपसमा भिडाएर , तिमी शत्रु हजारौको बलि दिने ?

 हिजो पारि रुखमुनी बसेर १२ मास चैनको सम्झौता गर्दा , के ति प्रेमिल जोडी वा रचियताहरु खुसि थिए त् ? यता बाट दिल लि , दिल लि भनिरहदा , उनीहरुले किन गद्दी गद्दी सुनेका होलान् ? अथवा त्यस पटकथामा अरु पात्र अनुबन्धित गरियो ? यहाँ उत्तर ? किनकि दिन आजपनि निको छैन। कुहिरो मण्डलीमा प्रकाश छिरेको त् भुमि सिंचित छ। कसले के गर्दैछ खुला देखिन्छ , त् सुनेको ठम्याउन सकिन्छ। "कुहिरोको काग " भनेको यहि हो ? "लाटोकोसेरो" रैथाने हो कि फिरन्ते ?

अहिले पनि माधवी लताहरु घिसरिदै छन् उही प्रचण्ड पथमा। निरन्तर हुनेछ जीवन रहन्जेल सम्म। किनकि प्रेममा आज परेको हैन , यो बन्धन त् युग देखि युग सम्म। प्रगाढ माया छुटाएर छुट्न नसक्ने , लुकाएर लुक्न नसक्ने। पिरती बसेकै हो , षडयन्त्रमा फसेकै हो।  भर्खरै प्रतिगामी तरवारले खड्गो टार्ने परिघटना भयो , हुदै जाने छन्। यो नास्तिकी सफलता कहिले सम्म हो ? 

त् आजपनि पारि बसेर वारिको दु:खमा चिन्तित छु , यसको विपरितमा उनीहरु वारि बसेर पारीको भलाई सोच्दै छन्। भुइमै टेक्दा पनि माटोले किन नछोएको होला ? माटोलाई आफै त् दिएनन् , माटोले आफ्नो हक माग्दा पनि दिन किन कन्जुस्याई गरेको हो ? स्वर्ग देख्न मर्ने पर्ने हो , नमरी स्वर्ग देखिन्न ? स्वर्ग जाने हो कि , बनाउने हो ?

बर्षौ देखि भुलाएको उडान , अब गर्ने संकल्प गर्नु छ। किनकि "हामी यहाँ छौ " भन्दा सबैले देख्ने आखाँ , मैले " यहाँ छु " भनिरहदा वास्ता नहुदो रहेछ। पारिका अनेकन बाधा सामना गरेर आफ्नो स्थान "खोप" फर्किने निधो गरे। स्वन्तन्त्रता प्राप्त मेरो मुलुकको क्षितिजमा  विचरण गरिरहदा नौलो आभाष भयो। पुर्व बाट सुरु गरेर पश्चिम सम्म पुग्दा स्वतन्त्रताको प्रभाव सबैजसोमा परेको रहेछ। देख्ने बोल्न नसक्ने , बोल्ने सुन्न नसक्ने सुन्ने देख्न नसक्ने। परिवर्तनको परिणाम यति घातक हुन्छ ?

आज फेरी मेरो पालो थियो। घरबाट सुरु गरेर , घरभित्रै हराउने। आशा लिएर निस्केको , निराशा बोकेर भित्रिने। दिन आज पनि अध्यारो नै , सायद मेरो आगमनको  साक्षी कसैलाई हुन छैन होला। त्यसबेला जादा मात्र निरास थिए , आज त् सारा जगत खिन्न छ। हिजो अस्ति पारि लेखिने पटकथा , अहिले घरैमा मन्चन हुदा पनि बोल्न सकेको छैन। फरक यत्ति हो , पहिला सुर्यको तापमा  कथा बुनिन्थ्यो , अहिले रुखको छहारीमा।

मलाई आज पनि अन्धकारको अधीनता नै प्यारो , सायद स्वतन्त्रता परिस्थितिगत भएर होला। खोपको परेवा, मेरो डाँक - शान्ति , शान्ति , शान्ति।

-अनिश आचार्य 

 

 

 

Comments

Popular posts from this blog

मस्तीमा- पुरका धुर्तराष्ट्रहरु !!

हामी विकृत हुने कि विकसित हुने?

म आलु विपक्षी