हेल्पलाइन नम्बर १७ ०००





त्यो मुक्तिको बाटो एकैदिन रोल्पा , रुकुम , गोर्खा अनि सिन्धुलीबाट सुरु भयो। २०५२ साल फाल्गुन गते मंगलबारको दिन सबै सर्वहारालाई त्यो सुरुवातमंगलमय” लागेको थियो होला। बसन्त ऋतुमा सारा जगत आफ्नो जिर्ण स्वरुप फाल्दै नयाँ पालुवा लगाउदै थियो। ति तमाम सहभागी- हतभागी लाई पनि प्रकृतिको सिको गर्दै नव-समाज बनाऊछौ भन्ने उत्कट आकांक्षा थियो होला। किनकि उनीहरुको बिश्वास प्रचण्ड नेतृत्वमा थियो त्यसैले त् उनीहरु जीवन उत्सर्ग गर्न पनि राजि भएर प्रचण्ड पथमा अगाडी बढदै थिए। आखाँमा सपना अनि हातमा वास्तविकता बोकेर। खुट्टाले माटो टेक्दै अनि दिमागमा फाटो लिपेर।

यस धर्तीमा मेरो त्यो दोश्रो बसन्त खासै उल्लासपूर्ण नभएको आज पत्तो पाए जब "निरन्तरतामा क्रमभंगता " को प्रचण्ड परिभाषा अवसरवाद रहेछ भन्ने ज्ञान भयो। त्यस ग्रामीण क्षेत्रलाई नियन्त्रण गर्ने त्यसपछि शहरी बस्तीहरूलाई घेर्ने क्रान्तिकारी रणनीतिको सामान्य ज्ञान थाहा पाउदा धन्न प्राथमिक शिक्षा सक्किएको थियो किनकि मैले त्यसपश्चात मात्र थाहा पाए कि तथाकथित बुर्जुवा शिक्षा क्रान्तिकारी नीतिमा बन्देज रहेको। तर पनि मनमा केहि परिवर्तन आएन किनकि यो रणनीति त् देशमा परिवर्तन ल्याउने थियो नि हैन ?  

मेरो घरको आँगनमा रुख झाँगिदै गर्दा , मेरो कोठामा भने हसिया-हतौडाको ढोका लगाएको थिए , धोका नहुन्जेल सम्म। घर- गाउँमा वरपर कसैले “जय नेपाल” भनेको सुन्दा , मलाई "लालसलाम"को गित गाउन मन लाग्थ्यो। यो मेरो क्रान्तिकै एउटा स्वरुप हो भन्न मिल्दैन र ? अरु जंगलमा युद्द गरिरहदा , म घरमा "बन्दुक बिना " युद्द गरिरहेको रहेछु , त्यस प्रचण्ड अस्थिरतालाई “गतिशिलता” मानेर। बैंक लुटियो , प्रहरी चौकी जले , सरकारी भवन लडे , मान्छे मरे , घाइते भए , बिदुवा भए , टुहुरा भए , झन् झन् गरिब भए।  यी सबै कर्तुत नवनिर्माणका लागि होला भन्ने ठानेर निदाएको  व्युहूनिर्माण लाई रहेछ भन्ने थाहा पाउदा आखाँ खुल्यो।

रुखको छहारीमा बसेर देशको हालत बुझ्दा यता खलखली पसिना बग्थ्यो, उता रगत युद्द हुन्थ्यो , सहिदहरुले बीरगति पाउथे , देश तहसनहस- अस्तव्यस्त हुन्थ्यो। , पनि कानले "अरुण तरेर नाना तमोर तरेर , आयौं हामी बिरताको गाथा कोरेर " सुन्दा मुट्ठी कस्न मन लाग्थ्यो। किनभने मलाई लाग्थ्यो ,"युद्द नै विकासको द्योतक हो "  दश बर्षमा देशलाई स्विज़रल्याण्ड वा सिंगापुर बनाऊछौँ भनेको सुन्दा हर्ष अद्भुत हुन्थ्यो। अरुले त्यो कुरा सुने कि सुनेनन् भनेर मनमा प्रश्न खडा हुन्थ्यो। घरभरि सबैलाई बारबार त्यहि कुरा दोहोर्याउन मन लाग्थ्यो। बाटोमा हिडेका प्रत्यक बटुवालाई रोकेर सुनाउन मन लाग्थ्यो दिनहरु गन्न मन लाग्थ्यो जबसम्म१२ बुँदा” पढ्न सकिएको थिएन।

सबै जन-जनको मनमा एउटा "जन"को मोह थियो, त्यो हो जनसरकार। भाइभारदारको शाशनले शोषित जनता शाही सरकार बाट आजित हुनु स्वभाविक थियो। त्यसैले समानुपातिक समाबेशीताको अपरिहार्यता स्पष्ट थियो। यो लक्ष्य प्राप्ति गर्न जनसहभागिता , जनपरिचालन , जनक्रान्ति , जनयुद्द , जनसेना , जनअदालत , जनसत्ता , जनसरकार अनिवार्य भन्ने जस्ता धेरै फुटकर जनको बुझाइ ठिकै थियो जतिबेलासम्म जनताको मत च्यातिएन। जनताको टाउकोमा टेकेर पेटमा लात हान्ने यस प्रचण्ड प्रवृति अस्थिर राजनीतिक मानसिकताको उपज हैन भन्ने ठाउँ बाकीं ? प्रचण्ड पथको आत्मरति तिनै नाइके बाहेक अरुलाई ?

चारुमा सुरु गरेर भारुमा सकेको क्रान्तिले नेताको मात्र हैन लोकको पनि बिजोक पार्छ। त्यस प्रचण्ड क्रान्तिको धराताल थाहा पाउदा मलाई प्रचण्ड पथमा छोडिएको आफ्नो पाइला मेटाउने आत्मग्लानी गर्ने बाहेक अरु केहि विकल्प रहेन। यस्तै विकल्पहिन तमाम स्वप्नद्रष्टाले शनै: शनै पाइला मेटाउदै गएको चाल पाएपछि दच्कनु प्राकृतिक हो।पछिल्ला दिनहरुका प्रचण्ड अभिव्यक्ति यसैका प्रमाण हुन्।

उच्च क्रान्तिकारी सोच जब छलको जगमा निर्माण हुन्छ त्यसको उपज, निश्चित व्यक्तिमा व्यक्तित्व विकार पैदा हुन्छ। नाटकीय व्यक्तित्व विकार, यिनै छलछाम बाट सृजित परिणाम हो। फलस्वरूप व्यक्तिमा तिव्र अस्थिर भावना पैदा हुदा स्व- छवि विकृत हुन पुग्दछ। आवेगपूर्ण व्यवहार, सोच वा कथन स्वयम् लाई मात्र हैन , यो सारा समाजका लागि घातक छ। किनकि यस प्रकारको विकारले राजनीतिक वा - राजनीतिक अपराध गर्न बाधा गर्दैन साथै त्यस कार्य प्रति कुनै प्रकारको पश्चाताप हुदैन। कहिले श्रेष्ठताको अतिरञ्जित भाव उत्पन्न हुन्छ त् कहिले असहायताको अनुभूति हुने गर्छ।

उदाहरणका लागि तिनै प्रचण्ड भाषणमा तालमेल नहुनुले प्रष्ट पारेको छ।  कुनै दिन माउ पार्टी  निर्वाचन पछि पहिलो पार्टी बन्ने उद्घोष हुन्छ अर्को दिन दलीयठगबन्धन” ले मिलेर उम्मेद्वारी दिने कुरा सुनिन्छ   एकदिन पार्टीले देशै भरि उभार ल्याउनु पर्छ, ल्याएको भनिन्छ , अर्को दिन माटो मुठी कसेर आत्महत्या गर्न मनलाग्यो भनेको समाचार बन्छ आज आफ्नो पार्टी भ्रष्ट नभएर अरु पार्टी हुन् भन्यो भोलि फेरी भाषण गर्दा पार्टीमा चरम भ्रष्टाचार , नातावाद , दलाली हावी भएर जनताको काम भएन , यस्तो गर्ने लाई तुरुन्त कारवाही गर्ने घोषणा हुन्छ। आफ्नै भाइभारदारलाई होला  त् साच्चिकै कारवाही ? ढिलो उदाए सुर्यलाई त् नमस्कार गर्दैनन् , यो कुबेलाको भावनात्मक भयादोहनले जनताको मानसिकतामा परिवर्तन ल्याउन निकै अबेर भईसक्यो।

जनताका आशा भरोसा बचेका भए यी सबै प्रभावकारी हुन्थे होलान , अब मरेको आत्मामा पानि हाल्नुको अर्थ छैन। यी सबै प्रयास निष्प्रभावी सावित हुनेछन्   किनकि मुट्ठी कसेर देखेका सपनाहरुलाई , "सेटिंग" को ओछ्यानमा ब्युझ्याउने कर्तुतको अवसान अवस्यम्भावी छ। पार्टीको भयालो ( दाजुभाइ , कुटुम्ब आदिको समूह ) हैनन् जनता। डमरु बजेको सुनेर,हसिया-हतौडाको ढोका खोलेर बाहिर निस्किदा, कमरेड आँगनमा छमछमी नाचेको दृश्य जनताले देखिसके। अब गोलाकार भित्र हसिया-हतौडाको धुनमा नाचेर जनताले साथ नदिने पक्का छ।

यी सबै घटना अवस्थाको ठोस विश्लेषण गर्दा देखिएको कहालीलाग्दो भविष्य यस चिन्ताको मुख्य कारण हो। तसर्थ आत्महत्याको सोंच आउनु मुनासिब छ। परन्तु , आत्मको हत्या गरेर हैन बरु आफ्ना स्वार्थ चरम महत्वाकांक्षा तिर नलागी , अत्मत्यागी हुदा उचित होला।

यस चरम निराशा बाट पैदा भएको राष्ट्रिय अवसाद (डिप्रेसन) बाट उत्पन्न हुने आत्महत्याको सोंच त्याग्न अनि संकटको सामना गर्न सारा देश मनोचिकित्षकको नियमित परामर्शमा छ। तपाइलाई अझैपनि आत्महत्याको सोंच आए कृपया हेल्पलाइन नम्बर १७ ००० मा मनोपरामर्श लिनु निश्चित रुपमा हितकारी होला।

- अनिश आचार्य 

Comments

Popular posts from this blog

मस्तीमा- पुरका धुर्तराष्ट्रहरु !!

हामी विकृत हुने कि विकसित हुने?

म आलु विपक्षी