एकादेशमा एउटा पेन्डुलम देश !

 


एकादेशमा एउटा पेन्डुलम देश थियो |एकदमै अस्थिर, कहिले एता हल्लिने, कहिले उता ढल्किने।

विभिन्न अध्यायको देश | कुनै अध्याय राणाको हुन्थ्यो भने कुनै अध्याय सानाको हुन्थ्यो। जनताको चाहना त् उही हो, छाना, नाना माना।

देश हराभरा भएतापनि  शासकको आदेश ज्यानमारा हुन्थ्यो | त्यस लोकमा शिक्षाको भिक्षा माग्नेलाई ज्ञानको अभिमान दिने चलन थियो |दीक्षित त् उही थर मात्र बाकीं थियो।

त्यो देशको दरवार कैलाश पर्वतको फेदिमा अवस्थित थियो | त्यस दरवारको रक्षा गर्न थुप्रै तरवारहरू परिचालित थिए तर वरपर सिमानामा कुनै तारबार थिएन | त्यस दरवारका भित्ताहरु ईट्टाले नभई पैसाका बिट्टाहरुले ठडीएका थिए | छानो शिशाको अनि भर भिसाको थियो |

दरवारको छेउमै एउटा अजंग्गको रुख थियो | त्यो रुखमा बैभव फल्ने गर्थ्यो | तर शिशिर ऋतुमा भने त्यस रुखको छायाले दरवारमा कहिलै सुर्यको किरण पर्न दिएन | अनि बसन्त ऋतुको हावाहुरीमा हाँगाले दरवारको छाना चर्कौला भन्ने डर हुन्थ्यो|  ग्रिष्म ऋतुमा भने त्यहि रुखको भर हुन्थ्यो |

रुख काट्ने हिम्मत कसैको भएन किनकि फल त् त्यसैमा लाग्थ्यो | प्रयासीहरु प्रयास उधुम्मै गर्थे, परन्तु दरवार अन्त बनाउने ल्याकत त् के सार्ने तागत पनि थिएन |

त्यस दरवार भित्र शासन एकछत्र थियो, बाहिर मात्र भासण सर्वत्र  थियो | दरवार भित्र बस्ने मख्ख, बाहिर बस्ने छक्क पर्थे | जनता स्वाभिमानी , नाइके बेइमानि गर्थे |भित्रकाले कर्म गर्दा बाहिरकालाई शर्म हुन्थ्यो | भित्र पासाको बाढी चल्थ्यो , बाहिर आशाको नाडी रोकिन्थ्यो | बाकि सब फस्ट क्लास थियो |

त्यस लोकमा सबैको खानपिन(भोजन र मनोरंजन) ठीक्क हुन्थ्यो | जसोतसो छाक चाहिं टरेको थियो।

 अचानक शत्रु शताप्दीमा पश्चिम दिशाबाट बुफे(आफ्नै हात जग्गंनाथ) चलनको सुरुवात भयो | उताका ले यताकालाइ विद्याभ्यास गराएर , त्यो चलन टपक्कै टिप्न लगाए।

त्यो बिष मात आयात भएपछि, नेता थालमा भन्दा भाडोमा ज्यादा हेर्ने भए जनता खानेकुराको परिमाणमा भन्दा पारिकारमा केन्द्रीत भए | दाल भात तरकारी खाने संकल्प गरेका ती सन्तोषी मनुवा अब त् परिकारै परिकारको विकल्पले अम्मली हुनथाले |

अब  त् तास खान पनि खेल्न पनि प्रयोग हुन थाल्यो | सिकुवाको सेलरोटीले नभएर अगेनाले सेकुवाको रस सेक्न थाल्यो |

रितीको फालनी हुदै गर्दा परनितीको थालनी भयो | आफ्नाको  निको गर्ने भन्दा, आर्काको सिको गर्ने संस्कारको विस्तार हुदै गयो।

त्यस पश्चात त् राजारामले हराम , रिताले रमिता , मनोहरिले मनपरी अनि रेखाले अनदेखा गर्न सुरु भयो | राज्यलाई भलो हुदा ठुलालाई के गरु के गरु हुन  थाल्यो | सानालाई बाचौं कि मरौँ हुन थाल्यो |

खोरिया जाने मन हुदाहुदै कोरिया जानु पर्ने बाध्यता भयो | दुहबी हिडेँका बटुवालाई चालकले दुबही पुर्याउन थाल्यो | तरपनि जन जनको मनले भन्थ्यो, के भयो त् ? आतँ गलेकै जिन्दगी चलेकै |

एकरातको कुरा हो , खादाखादै जनता जनार्दन प्यासीलाई आधारभूत आवश्यकताहरुको प्यास लाग्यो | पानीको खोजीमा मूल भुलाएर हिड्यो | कहिले लहड, कहिले बाध्यता , कहिले आकांक्षा हुदै लतारिदै -भौतारिदै भएपनि  परभुमीको मरभुमीमा पुग्यो | ऊ भिन्न देशको अभिन्न अंग बन्न पुग्यो।

उसले त्यहाँको सरदारलाई प्यास मेटाईदिन सादर अनुरोध गर्यो | सरदारले आफ्ना भारदारलाई नजिकैको ईनारको किनारमा लग्न पानीको खानी देखाउन भन्यो | प्यासीलाई ईनार देखाएर उनीहरु फर्किए |

एक निमेस पनि नसोची प्यासीले परभुमीको ईनारमा फाल हाल्यो | उसलाई लागेको प्यास त् मेट्यो परन्तु जिन्दगी बिताउन उसले त्यहिँ ईनारको ब्यास मात्र भेट्यो |

अन्त्यमा प्यासी लेख्छ ,

कलर फुल हुने झोकमा

ब्ल्याक एण्ड ह्वाईट रोजिएछ,

फलांस खेल्ने होडमा

तासको जोकर पो भईएछ !

त्यस लोकमा अझैपनि चर्चा उहीं रे, हल्लिने कि झुन्डिने ?

-अनिश आचार्य 

 

Comments

Popular posts from this blog

मस्तीमा- पुरका धुर्तराष्ट्रहरु !!

हामी विकृत हुने कि विकसित हुने?

म आलु विपक्षी